विकास बजेट काटिएकोप्रति आपत्ति

समाचार

रुपन्देही, ४ कार्तिक । एमाले संसदीय दल लुम्बिनीले गठबन्धन सरकारले बहुवर्षीय योजनाका धेरै बजेट कटौती गरेकोमा आपत्ति जनाएको छ ।

बजेट संशोधनका नाममा आवधिक योजनाअनुसार बनेका ठूला र बहुवर्षीय योजनाका बजेट काटिँदा नागरिकले विकासको मुख देख्न नसक्ने अवस्था आएको दलको आरोप छ । 

प्रतिपक्षमा रहेको एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै भौतिक विकासमा फड्को मार्न अढाई सय पुल बनाउने योजना, ३ वर्षभित्र सबैको घरमा स्वच्छ खानेपानी पु¥याउने वास योजना, ७० प्रतिशत कृषि भूमि सिँचाइ गर्ने लगायतका महत्त्वपूर्ण योजनाको बजेट काटेर भुत्ते बनाएको भन्दै विरोध जनाएको हो ।

एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारको निर्णयले नागरिकको विकासको सपना खोस्ने काम गरेको दाबी गरे । पहिलो चौमासिक सकिँदासम्म बजेट कार्यान्वयन कार्ययोजना बनाउन नसकेकोले सरकारले बजेट कार्यान्वयन गर्नेमा आशंका रहेको नेता चौधरीले जनाए ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले १७ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएको सरकारले विकास भन्दा आफ्नै व्यवस्थापनमा ध्यान दिदा अघिल्लो सरकारले बनाएका विकास योजना काटिएको दाबी गरे । 

एमालेले मनसुनपछिको वर्षाले किसानको बाली तथा धनजनको क्षति पु¥याएको भन्दै गहिरो दुःख व्यक्त गर्दै प्रदेश सरकारलाई उचित राहत र क्षतिपूर्तिका काम गर्न आग्रह गरेको छ । उक्त माग सहितको ज्ञापन पत्र बुधवार मुख्यमन्त्री कुलप्रसाद केसीलाई समेत बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ