काठमाडौं, ५ कार्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घटन गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले बुधबार उक्त एयरपोर्टको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोका लागि गरिएको छ ।
कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकहरुको आवागमनलाई सजिलो बनाउने बताइएको छ ।
२६० करोड रुपैयाँको लागतमा ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर एयरपोर्टको निर्माण भएको हो । नयाँ टर्मिनल ३ सय यात्रुहरुलाई सजिलै आउन जान सुविधा प्रदान गर्ने क्षमताको रहेको छ ।
कुशीनगर एक अन्तर्राष्ट्रिय बौद्ध तीर्थ केन्द्र हो । जहाँ भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए । यो स्थल बौद्ध सर्किटको एक केन्द्रबिन्दु पनि हो ।
बौद्ध सर्किटमा कुशीनगरको अलावा लुम्बिनी, सारनाथ र गयाको तीर्थस्थलहरू सामेल छन् । यो एयरपोर्टले बौद्ध धर्मका अनुयायीहरुलाई विदेशबाट लुम्बिनीमा पुर्याउन समेत भूमिका निर्वाह गर्नेछ जसले लुम्बिनीको पर्यटन विकासमा ठूलो मद्दत गर्नेछ ।
साथै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगीर, संकिसा तथा वैशालीको यात्रा यो एयरपोर्टले अब कम समयमा पूरा गर्न सकिनेछ ।
कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टले विश्वका विभिन्न देशहरुबाट आउने तीर्थयात्रीहरुलाई यो क्षेत्रका विभिन्न बौद्ध स्थानसँग जोड्न मद्दत र गर्नेछ ।
यस एयरपोर्टले एसियाली देशहरु श्रीलंका, जापाम, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, भियतनाम र सिंगापुरबाट आउने पर्यटकलाई लुम्बिनी क्षेत्रमा ल्याउन ठूलो भूमिका निर्बाह गर्नेछ ।
तपाईको प्रतिक्रिया