जयनगर–कुर्था सीमा पार रेलखण्ड हस्तान्तरण

समाचार

काठमाडौं, ५ कार्तिक । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमा पार रेलमार्ग भारतले एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले सहभागिता जनाएका थिए ।

समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेलखण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो । 

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारोगज खण्डलाई ब्रोडगजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ । 

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत नेरु.८.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो । 

यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारोगज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्थाखण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन्, जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ । 

एकपटक सञ्चालनमा आएलगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोडगज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्नेछ । 

सीमापार रेल सञ्जाल भारत–नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो जसमा जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समाविष्ट छन् ।  यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायताअन्तर्गत निर्माण भएका हुन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ