जनकपुरधाम, ८ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली मुलुकका लागि घातक रहेको बताएका छन् ।
जसपा जनकपुरधाम उपमहानगर समितिले सोमबार जनकपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणालीले अगामी दिनमा थप संकट निम्त्याउने भएको हुँदा निर्वाचन प्रणाली फेर्नु पर्ने बताए ।
दिनानुदिन महंगिदै गएको निर्वाचनले योग्य र इमान्दार व्यक्तिहरु राजनीति बाट पलायन हुने तथा माफियाहरु हावी हुने भएको हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा जानु पर्ने आवश्यकता रहेको उनको कथन थियो ।
करौडों खर्चेर जित्ने जनप्रतिनिधिहरुबाट विकासको अपेक्षा गर्न नसक्ने उल्लेख गर्दै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलीय समानुपातिक संसदीय प्रणालीमा गयांै भने चुनावी खर्च न्यून हुने, इमान्दार नेताहरु संसदमा स्थान पाउने तथा विज्ञहरु सरकार संचालन गर्ने अवस्थाको सिर्जना हुने उल्लेख गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, सामाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायसहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया