प्रदेश २ सरकारद्वारा विश्वविद्यालय सम्बन्धि २ अध्यादेश सिफारिश

समाचार

जनकपुरधाम, ९ कार्तिक । प्रदेश नं. २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकले वीरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराएका छन् ।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगतै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ । 

कृषि तथा प्राविधिक सम्बन्धि उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको हो ।

जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थाापना गरि संचालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो । 

यसैगरी, प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटीअन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र विरगंजमा सरसफाई, बिजुली बत्ति तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णयसमेत गरिएको प्रवक्ता साहले बताए । 

मन्त्रिपरिषद्ले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिकसहितको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहिन काम गरिरहेको पाइए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालो सूचिमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ