वीरगञ्ज, ११ कार्तिक । पर्सामा हालसम्म २ लाख २ हजार १ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहका अनुसार असोज १५ अर्थात् दसैं अघिसम्म जिल्लामा १ लाख ३ हजार ५९ जनाले खोपको पूणर् डोज लिइसकेका थिए ।
खोप लगाउने संख्या जिल्लाको कूल जनसंख्याको २३ दशमलव ८ प्रतिशत हो । दसैंको अवधि तथा त्यसपछि पनि खोप अभियान चलाइएकोमा यस अवधिमा करिब ९९ हजार जनाले खोपको पहिलो डोज लगाएको बताइएको छ ।
यसरी पुराना र नया गरी जिल्लाका कूल ३० प्रतिशत जनताको पहुँचमा कोरोना विरुद्धको खोप पुगेको छ ।
जिल्लामा हालसम्म कोभिसील्ड, जोन्सन एन्ड जोन्सन, भेरोसेल र एस्ट्राजेनेका खोप दिइएको उनले बताए ।
जिल्लामा चरणबद्ध रुपमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरससफाईकर्मी, कोरोना संक्रमित मृतकको शवको व्यवस्थापनमा खटिएका र अन्य सुरक्षाकर्मी, सञ्चारकर्मी, कारागारका कैदीबन्दी र त्यसपछि सर्वसाधारणलाई चरणवद्ध रुपमा खोप उपलब्ध गराइएको छ ।
सर्वसाधारणहरुमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई खोप दिइँदैछ ।
तपाईको प्रतिक्रिया