बर्दिया, १४ कार्तिक । अफगानिस्तान, बंगलादेश, पाकिस्तान लगायत देशबाट आउने नागरिकहरू अवैध रुपमा नेपालमा प्रवेश गर्न थालेपछि भारतले नेपाल–भारत सीमाक्षेत्रमा कडाइ गर्न थालेको छ ।
सिमानामा हुने घुसपैठ रोक्न भन्दै भारतीय सीमा सुरक्षा बलले अनिवार्य परिचयपत्र समेत लागू गरेको छ ।
आतंकवाद रोकथाम तथा अवैध रुपमा भित्रिने नागरिकलाई रोक्न यस्तो नियम लागू गरेको नानपारास्थित भारतीय एसएसबीका कमाण्डर एसपी स्वर्णजीत शर्माले कान्तिपुरसँग बताए ।
नेपाल भारतको असल मित्र भएकाले दुवै मुलुकको सुरक्षा अधिकारीको सहकार्यबाट यस्ता अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने एसपी शर्माले बताएका छन् । परिचयपत्र लागू भएपछि अवैध गतिविधि रोकिने उनको अपेक्षा छ ।
‘भारत हुँदै नेपाल आउजाउ गर्ने सबैले परिचयपत्र देखाउनुपर्ने निर्देशन मातहातका सुरक्षा निकायलाई दिइसकेका छौँ,’ भारतीय एसपी स्वर्णजीत शर्माले भने ।
सशस्त्र प्रहरी बल बर्दियाका एसपी नरबहादुर रावत र एसएसबीका सुरक्षा अधिकारीबीच सीमामा हुने अपराध नियन्त्रणका पक्षमा भारतको बहराइच जिल्लाको सीमावर्ती मूर्तिहामा छलफल भएको थियो ।
अब नेपाल प्रवेश गर्दा नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र लगायत शैक्षिक परिचयपत्र हुनुपर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए । उनले सीमा क्षेत्रमा परिचयपत्र हेरेर आउजाउ गर्न आफ्ना मातहातका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया