जनकपुरधाम, १४ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् ।
चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअगाडि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर विरोध गरेका हुन् ।
उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् ।
दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।
वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिए ।
वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन् ।
प्रहरीले नगरप्रमुख साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए ।
वडाध्यक्षहरुले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरेको र आफू भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन् ।
जनकपुरधाम उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगर प्रमुख साहप्रति जनप्रतिनिधिहरु पनि आक्रोशित बनेका छन् ।
तपाईको प्रतिक्रिया