काठमाडौं, १६ कार्तिक । झण्डै एक दशकअघि ५ जनाको ज्यान जानेगरी भएको जनकपुर बमकाण्ड मुद्दाको फैसलामा मुख्य योजनाकार भनिएका संजय कुमार साह (टकला)ले पुनः राहत पाएका छन् ।
ज्यान मार्ने षडयन्त्र मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकैद फैसला सुनाएकोमा उच्च अदालत जनकपुरले त्यसलाई कम गरी ११ वर्ष हुने फैसला सुनाएको छ ।
सोमबार न्यायाधीश धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्वराज्यमन्त्रीसमेत रहेका अभियुक्त साहलाई ११ वर्षको कैद सजाय सुनाएको उच्च अदालतका रजिष्ट्रार खडगराज अधिकारीले जानकारी दिए ।
जिल्लाको फैसलाविरुद्ध विक्की दास कथबनियाले उच्च अदालतमा दिएको मुद्दामा यस्तो फैसला आएको हो । जन्मकैदमा २० वर्ष सजायको व्यवस्था छ । अब उच्च अदालतले ९ वर्ष कम गरेर फैसला सुनाएपछि संजय साहलाई राहत भएको छ ।
षड्यन्त्र गरी ज्यान मार्ने मुद्दामा १० देखि १५ वर्षसम्म सजाय हुने व्यवस्था रहेकोमा ११ वर्ष कैद फैसला भएको रजिष्ट्रार अधिकारीले बताए ।
यसअघि गएको असोज १७ गते उच्च अदालतले जनकपुर बम काण्डकै अर्को ज्यान मार्ने उद्योग मुद्दामा साहलाई ७ वर्ष कैद सजाय सुनाएको थियो । सो मुद्दामा जिल्ला अदालतले साहलाई १२ वर्ष कैदको फैसला सुनाएको थियो ।
जिल्लाको फैसलाविरुद्ध गरेको रिटमा ५ वर्ष कैद सजाय कम गर्दै उच्च अदालतले ७ वर्ष कैद हुने फैसला सुनाएको थियो ।
२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विस्फोट गराइएको थियो । जसमा परी ५ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।
सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा चलाइएको थियो ।
जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री टकलालाई जन्मकैद सजाय सुनाएको थियो। साह काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
तपाईको प्रतिक्रिया