रौतहट, १६ कार्तिक । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।
गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार पत्रकार भेटभाट कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘ओलीजी गफाडी नम्बर वान हो । उनले घरघरमा ग्यास बाल्दिसके । पानी जहाज सञ्चालन गरिसके । जहाज चढ्न टिकट काटिसक्नु भयो होला । अब त्यो टिकटको पैसा फिर्ता माग्नुस् ।’
नेपालले भने, ‘सर्वोच्च अदालतमा अहिले देखिएको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा विदेशबाट आएलगत्तै पाँच दलको बैठक बसेर निकास दिन्छौं ।’
गठबन्धनबीच छलफल हुन नपाएकाले अदालतबारे ठोस निणर्य लिन नसकेको उनको जिकिर छ । ‘अहिले प्रधानमन्त्री पनि बाहिर हुनुहुन्छ । हामी गठबन्धनका साथीहरु बसेर सर्वोच्च अदालतबारे केही सल्लाह गर्नैै पाएका छैनौं,’ उनले भने, ‘अदालतको मामलामा कतिसम्म र के गर्ने भन्ने चाँडै टुग्याउँछौँ । सम्मानजनक निकाश दिन्छौँ ।’ सर्वोच्च अदालतमा देखिएको समस्या पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै उपजका कारण भएको आरोप लगाए ।
भेटघाट कार्यक्रममा अध्यक्ष नेपाल घरीघरी केपी शर्मा ओलीविरुद्ध खनिए । ‘संसदीय चुनावका बेला मेरा पक्षका मानिसलाई टिकट दिँदा ओलीले पूर्वाग्रह राख्ने र पत्तासाफ गर्न लागिपरे,’ उनले भने, ‘मलाई त उनले पिँधमै पुर्याउन खोजे अब म धुलो चटाइदिन्छु ।’
अध्यक्ष नेपालले अहिलेको गठबन्धनबीचको सहकार्य आगामी चुनावसम्म कायम रहने सुनाए । चुनावमा तालमेल हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले नै भन्न नसकिने बताए ।
‘चुनाव आउँनै बाँकी छ । त्यही बेला तालमेल गर्ने नगर्ने भन्ने निष्कर्षमा पुगौँला,’ उनले भने,‘चुनावका बेला गठबन्धनबीच बृहत छलफल हुन्छ ।’ प्रदेश सरकारमा आफूहरुको वर्चश्व कायम रहेको उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया