विराटनगर, १७ कार्तिक । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अहिले पनि ठूलो हिस्साले वर्तमान संविधानको स्वामित्व लिन नसकेको बताएका छन् ।
यसप्रति असन्तुष्टि, टीकाटिप्पणी र आलोचना गर्ने अधिकार यही संविधानले प्रदान गरेको भन्दै उनले आवश्यक परे संविधानको संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।
बुधबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘झुटो आश्वासनका कारण संविधान संशोधनको विषय दलहरूको प्राथमिकतामा परेको छैन ।’
उनले संविधानले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको शक्ति सन्तुलनको स्पष्ट व्यवस्था गरे पनि सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको भूमिकालाई लिएर भइरहेको गतिविधिले त्यस विषयमा प्रश्न उठेको बताए ।
कांग्रेसको विधान एकांगी र खास उद्देश्यबाट प्रेरित र पूर्वाग्रही रहेको भन्दै उनले खास समूहलाई लक्षित गरी चलाउँदा ऊँटजस्तो बनेको टिप्पणी गरे ।
‘निहित स्वार्थ मात्र पूरा हुने गरी विधान, नियमावली र निर्देशिका संशोधन हुँदा त्यसले सिंगो पार्टीलाई हानि गरेको छ,’ उनले भने । पार्टीमा पदाधिकारी समेतको निर्वाचन गर्ने प्रणालीले गुटबन्दीको बिजारोपण गरेको उनको भनाइ छ ।
उपसभापति गच्छदारले पार्टीको विधान संविधानजस्तै मूल कानुन भएको तर कांग्रेस विधान संशोधन गरिँदा स्वार्थ समूहलाई फाइदा भएको र पार्टीमा योगदान दिने निष्ठावान्हरू उदासीन बनेको उल्लेख गरे । अब राजनीतिमा फेरि सक्रिय बन्ने गच्छदारले बताए ।
तपाईको प्रतिक्रिया