विराटनगर, २१ कार्तिक । मोरङ जिल्लाको विभिन्न छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ ।
केराबारी गाउँपालिका–९ बेलचौरीस्थित भित्री सडकमा को.४० प १७२७ नम्बरको मोटरसाइकल र बा.१० च ४३०० नम्बरको स्कारपियो एक–आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका–२ बस्ने ३० वर्षीय कमल कार्की र मोटरसाइकलमा सवार मोरङ पथरी बस्ने ५५ वर्षीय कुल बहादुर सुबेदीको घटनास्थलमै र मोटरसाइकलमा सवार लेटाङ नगरपालिका–२ बस्ने ४५ वर्षीया सिता कार्कीको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, ग्रामथान गाउँपालिका–२ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट को.१२ प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा मोटरसाइकल चालक कटहरी गाउँपालिका–५ बस्ने २१ वर्षीय आशिष सरदारको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी, रंगेली नगरपालिका–६ पिपलस्थित सडकमा साईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा साईकलयात्री सुनवर्षी नगरपालिका–६ पटियापाडा बस्ने ३० वर्षीय सत्रुघन साहको शनिबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि रंगेली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया