काठमाडौं, २३ कार्तिक । पाँच दलीय गठबन्धन सरकारले तीन प्रदेशका प्रदेश प्रमुख फेरेर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ ।
सत्तारूढ दलहरूको भागबन्डाबमोजिम प्रदेश १ मा प्रदेश प्रमुखका रुपमा नियुक्त हुन लागेका पूर्वसभासद खापुङ जनता समाजवादी पार्टीका नेतासमेत हन् ।
कर्णालीमा प्रदेशमा नियुक्त हुन लागेका प्रदेश प्रमुख परियार यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख भइसकेका छन् । उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।
सुदूरपश्चिमको प्रदेश प्रमुखमा नियुक्त हुन लागेका जोशी पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता हुन् । हाल प्रदेश १ मा नेकपा एमालेनिकट सोमनाथ अधिकारी प्यासी, सुदूरपश्चिम प्रदेशमा एमालेकै गंगाप्रसाद यादव र कर्णालीमा पनि एमालेनिकट गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख रहेका छन् ।
तपाईको प्रतिक्रिया