काठमाडौं, २५ कार्तिक । पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली आरम्भ भएको छ । पशुपतिनाथ मन्दिरका मूलभट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पवित्र पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली” को बिहीबार संयुक्तरुपमा शुभारम्भ गरेका छन् ।
र्यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकलप्रेमीहरुको सहभागिता थियो ।
भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्यालीको उद्देश्य रहेको जनाइएको छ ।
साथै हाम्रा दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि र्यालीको रहेको जनाइएको छ ।
कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा बताउनुका साथै मोटरसाइकल र्यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिएका थिए ।
भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथजस्ता प्राचीन मन्दिरले खेलेको भूमिकाबारे बताएका थिए ।
सो र्यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेधघाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् ।
यात्राका क्रममा र्याली महात्मागान्धीले भारत स्वतन्त्रत संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिकस्थल गोरखनाथ मठजस्ता विभिन्न ऐतिहासिकस्थल हुँदै अघि बढ्नेछ ।
यात्राका झलकहरु दूतावासको सामाजिक सञ्जालमा हेर्न सकिने दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।
स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादी का अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस र्यालीको आयोजना गरेको हो ।
तपाईको प्रतिक्रिया