काठमाडौं, २६ कार्तिक । पूर्वमन्त्री तथा तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले नेपालमा अदालत अब एक असफल राष्ट्रको असक्षम निकाय भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा शुक्रबार एक स्ट्याटस लेख्दै भनेका छन्, ‘सर्वोच्च अदालतको यो विवाद आखिर कहाँ गएर टुंगिन्छ ? प्रधानन्यायाधिश चोलेन्द्रको अब त्यहाँ पदासीन उपस्थितिले अदालतको गरिमालाई जोगाउन सक्दैन ।’
सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिले गरिमा जोगाउन नसकिने गुप्ताले बताएका छन् । उनले भनेका छन्, ‘उनी प्रधानन्यायाधीश रहेपनि सर्वोच्च अदालतको फूलकोर्ट “प्रचण्ड र ओली दुबै जना संगै रहेको नेकपा” भन्दा के फरक होला र ?’
यदि चोलेन्द्र हटेमा यसपछि आउने प्रधान न्यायाधिशहरूको अवस्था पनि फरक नहुने उनको तर्क छ । जोसुकै प्रधानन्यायाधीश बनून्, उनी पनि “कुनै सैनिक ‘कू’ बाट सत्ता परिवर्तन भई जुन्टाको पक्षपोषण गर्ने न्यायाधिश” भन्दा फरक नहुने दाबी जेपीको छ ।
चोलेन्द्रपछि जसको प्रधानन्यायधीश हुने सम्भावनाको चर्चा छ–उनि खिलराज–कल्याण र सुशीला ट्रोयकाको ‘लाचार छाया’ भन्दा अलग्ग बताउँदै भने, ‘वास्तवमा, अबको सर्वोच्च अदालत संविधान अनुसार लिइएको शपथ र बार एशोसिएशनबाट बन्ने मनोवैज्ञानिक दबाबको ‘द्वैध शासन’ सरह हुनेछ ।’
‘अहिले अदालतमा अनैतिक आत्मबलका साथ प्रधान न्यायधिश हुनेहरूको संख्या लामो छ । कुनै असफल र टाट पल्टेको कम्पनीको ट्रेड युनियनमा बदलिएको बार एशोसिएशन अब न्याय प्रणालीको लागि बैध दवाबकर्ता र बिचौलिया भन्दा फरक हुने छैन ।’ सामाजिक सञ्जालमा लेखेका छन् ।
यस स्थितिमा सरकारको संकेतबाट चोलेन्द्रको विस्थापन एक सरल बाटो रहेकोले यसमा सरकार अदालतबाट अनुग्रहित देखिएको जिकिर उनले गरेका छन् । सरकार तथा दलहरूको उदासीनताले अदालतलाई हिलाम्य बनाएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘अब वास्तवमा अदालत एक असफल राष्ट्रको असक्षम निकाय भयो । खोज्नोस् कसको श्राप पर्यो !’
तपाईको प्रतिक्रिया