जनकपुरधाम, २९ कार्तिक । प्रदेश नं. २ को सरकारमा नेकपा (एकीकृत समाजवादी)लाई सहभागी गराउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको राजीनामा माग गरिएको छ ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रायको राजीनामा मागेका हुन् । उनको राजीनामा आएसँगै मंगलबारसम्म नेकपा (एस)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ ।
यता, मन्त्री राय मुख्यमन्त्रीले राजीनामा मागेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनी राजीनामा नदिने पक्षमा देखिएका छन् ।
अहिलेसम्म प्रदेश २ को सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराइसकिएको छ ।
अब केन्द्रीय गठबन्धन अनुसार नेकपा (एस)लाई सरकारमा ल्याउने मुख्यमन्त्री राउतले गृहकार्य थालेका हुन् ।
मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालय टुक्राएर दश वटा बनाएका छन् । १९ सांसद रहेको नेपाली कांग्रेस तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भइसकेका छन् ।
पाँचवटा मन्त्रालय जसपाको भागमा परेको छ । बाँकी दुई मन्त्रालय अहिले मुख्यमन्त्री राउतले सम्हालिरहेका छन् । अहिले मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।
यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी नहुने नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए । उनले आफूले अर्थ र सामाजिक विकास मन्त्रालय लिने दाबी गरे । तर नेकपा एसलाई कुन मन्त्रालय लिनेबारे सहमति भने हुन सकेको छैन ।
प्रदेशसभामा नेकपा (एस)का १३ जना सांसद छन् । प्रदेश २ मा ३८ सांसद रहेको जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, १९ सांसद रहेको नेपाली कांग्रेस तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।
जनता समाजवादी पार्टीबाट विभाजन भइ १६ जना सांसदसहित गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र आठ जना सांसद रहेको नेकपा एमाले सरकार बाहिर रहेको छ ।
तपाईको प्रतिक्रिया