जनकपुरधाम, २९ कार्तिक । प्रदेश नं. २ को सरकारले सञ्चालन गरेको देशकै सबभन्दा बढी लोकप्रिय ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा भ्रष्टाचार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
भ्रष्टाचारको छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले साइकल खरिदमा भ्रष्टाचार पहिलो अनुसन्धानमा देखिएको जनाएको छ ।
आयोग बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको छ र थप अनुसन्धान जारी नै रहेको छ ।
मुख्यमन्त्रीको नाममा सञ्चालन हुने बेटी बचाउ बेटी पढाउ कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान लगायतका कार्यक्रमहरु मुख्यमन्त्री मो. लालबाबु राउतले आफ्नै मातहत राखेका छन् ।
बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले वितरण गर्दै आएको साइकल खरिदमा व्यापक अनियमितता र भ्रष्टाचार भएको गुनासाहरु आएपछि गत महिना अख्तियारले छापा मारेको थियो ।
अख्तियार बर्दिवासले मुख्यमन्त्री कार्यालयमै छापा मारेर साइकल खरिदसम्बन्धी कागजातहरु नियन्त्रणमा लिएको थियो ।
सोही आधारमा अहिले अख्तियार अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा भ्रष्टाचार गरेको पाइएमा सम्बन्धित सबैमाथि मुद्दा चलाइने अख्तियारले जनाएको छ ।
आफ्नो कार्यालयमा अख्तियारले छापा मारेको भन्दै मुख्यमन्त्री राउत आक्रोशित बनेका थिए । उनी पत्रकार सम्मेलन नै गरी अख्तियारको छापाप्रति खनिएका थिए । उनले अख्तियारको छापालाई संघीयताप्रतिको प्रहार भनेका थिए ।
तपाईको प्रतिक्रिया