जनकपुरधाम, ३० कार्तिक । प्रदेश नं. २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई पदमुक्त गरेका हुन् ।
हाल सो मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नै मातहत राखेका छन् ।
प्रदेश नं. २ को सरकारमा नेकपा (एकीकृत समाजवादी)लाई पनि सहभागी गराउनका लागि मन्त्री रायलाई पदमुक्त गरिएको बताइएको छ ।
यसअघि नै मुख्यमन्त्री राउतले मन्त्री रायलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । तर मन्त्री राय राजीनामा नदिएपछि मुख्यमन्त्री राउतले पदमुक्त गरेका हुन् ।
अहिलेसम्म प्रदेश २ को सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराइसकिएको छ । अब केन्द्रीय गठबन्धन अनुसार नेकपा (एस)लाई सरकारमा ल्याउने मुख्यमन्त्री राउतले गृहकार्य थालेका हुन् ।
मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालय टुक्राएर दश वटा बनाएका छन् । १९ सांसद रहेको नेपाली कांग्रेस तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भइसकेका छन् ।
तपाईको प्रतिक्रिया