विवादका कारण धनुषाका ६ वडामा कांग्रेस अधिवेशन स्थगित

समाचार

जनकपुरधाम, १ मंसिर । आन्तरिक विवादका कारण नेपाली कांग्रेसका धनुषामा ६ वटा वडामा अधिवेशन स्थगित भएको छ ।

पार्टी उपसभापति विमलेन्द्र निधि र महासमिति सदस्य एवं प्रदेश संसदीय दलका नेता रामसरोज यादव खेमाबीचको आन्तरिक विवादका कारण जिल्लाको उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासहितका ६ वटा वडामा निर्वाचन स्थगित रहेको जनाइएको छ ।

जिल्ला निर्वाचन अधिकृत अरूण ज्ञवालीका अनुसार जिल्लाको १ सय ६९ वडामध्ये १ सय ६३ वटा वडामा निर्वाचन सम्पन्न भइसकेको छ भने ६ वटामा विवादका कारण स्थगित अवस्थामा छ ।  

जनकपुरधाम उपमहानगरपालिका र शहिदनगर नगरपालिकाको एक/एक वटा वडा, सबैला नगरपालिका र मुखियापट्टी गाउँपालिकाको दुई÷दुई वटामा निर्वाचन स्थगित रहेको उनले जानकारी दिएका छन् ।

उपमहानगरपालिकाको वडा नं. २३ मा निर्वाचन सम्पन्न भएपनि विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गर्नुपर्ने अवस्थामा पुगेको ज्ञवालीले बताए ।

जनकपुरधाम उपमहानगरपालिका २३ मा निधि पक्षका राघवेन्द्र साहले निर्वाचन जिति सके पनि मन्त्री यादवकै हस्तक्षेपका कारण विवादको श्रृजना भएको छ । प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादव सभापति देउवा खेमाका हुन । सो खेमाबाट प्रदेश अध्यक्षका दावेदार समेत हुन ।

मन्त्री यादवले प्रदेश अध्यक्षको तयारीका लागि आफ्नो मान्छेलाई जबरदस्ती नेतृत्व दिने प्रयास गर्दा उपमहानगरपालिका सहित विभिन्न पालिकाका कयौँ वडाहरुमा अधिवेशन प्रभावित भएको आरोप साहले लगाएका छन् ।

वडा नम्बर २३मा भएको मतदानमा कुल १ सय १९ सदस्यमध्ये ६५ मत राघवेन्द्र साहको पक्षमा परेको थियो । उता मुखयिापट्टी मुसहरनिया गाउँपालिकामा मन्त्री यादवले त्यहाँका काँग्रेसी पुराना नेता कार्यकर्तालाई तह लगाउने व्यवहार प्रदर्शन गरेको आरोप कांग्रेसी कार्यकर्ताहरुको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ