रुपन्देही, १ मंसिर । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुनलागेको बुटवलस्थित श्रीनहरपुर माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास भएको छ ।
रुपन्देहीस्थित श्रीनहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवलनगरपालिकाका मेयर शिवराज सुवेदीले सोमबार शिलान्यास गरेका छन् ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण करिब नेरु ४.४१७ करोडको लागतमा हुनेछ ।
सन् १९७१ मा स्थापना भएको श्रीनहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११२७ जना विद्यार्थीहरु अध्ययनरत छन्, जसमा करिब ५०% छात्रा रहेका छन् ।
सन् २००३ यता भारतले नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटी, सरसफाईलगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।
यी परियोजनाहरुमध्ये रुपन्देही जिल्लामा निर्माण सम्पन्न भएका १० गरी लुम्बिनी प्रदेशमा ६० वटा परियोजना रहेकोमा सोही जिल्लाका दुई गरी ९ वटा परियोजना निर्माणका विभिन्न चरणमा रहेका छन् ।
भारत र नेपालबीच बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ ।
यो शिलान्यासले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा हातेमालो गर्न भारत सरकार सधैं प्रतिबद्ध रहेको तथ्यलाई प्रतिविम्बित गर्दछ ।
तपाईको प्रतिक्रिया