बारा, ३ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश नं. २ का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश २ मा एकल बहुमतको सरकार बनाउने बताएका छन् ।
बाराको कलैयामा शुक्रबार आयोजित एक कार्यक्रममा नेता सोनलले लोसपालाई प्रदेश २ कै सबैभन्दा ठूलो दल बनाई एकल बहुमतको सरकार बनाउने दाबी गरेका हुन् ।
प्रदेश २ को पूर्वमन्त्रीसमेत रहेका सोनलले कार्यकर्ताहरुलाई आगामी तिनै तहको निर्वाचन जित्ने लक्ष्यका सांथ अगाडि बढ्न निर्देशनसमेत दिएका छन् ।
उनले भने, ‘मधेशको मुद्दालाई लोसपाले नै अगाडि बढाउँछ र अधिकार प्राप्तिको आन्दोलनलाई लक्ष्यसम्म पुर्याउँछ ।’
उनले नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘जनताको बीचमा पुगि पार्टीको नीति सिद्धान्तको बारेमा बुझाऔं । अधिकारको लडाईं अहिले बांकि नै छ । मुद्दाको किनारा नलागुन्जेल हामी तयार भएर बस्नु पर्छ ।’
उनले जनतालाई पार्टीसँग जोड्न नीति र सिद्धान्तहरुको बारेमा जानकारी दिनका लागि गाउँ–गाउँमा पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
आगामी निर्वाचनमा पार्टीलाई प्रदेशकै ठूलो र स्थानीय निकायमा सबैभन्दा बढी सिट जित्ने अभियानका साथ जनताको घरदैलोमा जान आग्रह गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा सञ्जय यादव, पिंकी यादव, जयप्रकाश साह, श्याम गुप्ता, डा.कमरुल्लाह अंसारी, सर्फुल्लाह अंसारी, परमहंश केशरी, संतोष पटेल लगायत उपस्थित थिए ।
तपाईको प्रतिक्रिया