भाजपाका प्रवक्ताले भने, ‘नेपाल हिन्दू राष्ट्र नै हो’

समाचार

काठमाडौं, ४ मंसिर । छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।

शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शास्त्रीले नेपालको संविधानले धर्म निरपेक्ष राज्य भने पनि यहाँको सामाजिक प्रणाली हेर्दा हिन्दु राष्ट्र नै भएको उनले दाबी गरेका हुन् । 

‘संविधान एउटा कुरा हो । संविधानबाटै प्रशासनिक व्यवस्था चल्ने हो । तर, सामाजिक व्यवस्था, सामाजिक प्रणालीबाटै चल्ने हो । सामाजिक प्रणाली हेर्दा कसैले भन्न सक्दैन कि नेपाल हिन्दु राष्ट्र होइन ।’ उनले भने ।

लोकसभाका पूर्वसांसद समेत रहेका शास्त्री हिन्दु धर्मसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं, जनकपुर हुँदै पोखरा पुगेका थिए ।

प्रवक्ता शास्त्रीले पैसाको भरमा धर्म परिवर्तन गराउने काम भइरहेको बताउँदै अब जनताले बुझिसकेको बताए । ‘हामीले सामाजिक एकताको कुरा गरिरहेका छौं र कसैले सुझबुझका साथ विभेद गर्ने काम गर्छ भने, धर्म परिवर्तनको कुरा गर्छ भने, पैसा दिएर धेरै योजना पूरा गराउन खोज्छ भने, त्यो सामाजिक एकताको विरुद्ध छ,’ उनले भने । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ