काठमाडौं, ५ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल र भारतको साझा सांस्कृतिक सम्पदा र दुई देशबीचको मित्रतापूर्ण सम्बन्धबारे धारणा राखेका छन् ।
आइतबार डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौं र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंले आयोजना गरेको नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा अध्यक्ष ठाकुरले दुई देशबीचको मित्रता र सम्बन्धबारे चर्चा गरेका हुन् ।
अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र मित्रतापूर्ण छिमेकीहरूबीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन लोसपा अध्यक्ष ठाकुरले गरेका थिए र यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव (प्रेस, सूचना र संस्कृति) नवीन कुमारको उपस्थिति थियो ।
सो अवसरमा बोल्दै प्रथम सचिव (प्रेस, सूचना तथा संस्कृति) नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा. रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र र नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पारेका थिए ।
भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए ।
सो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको पहल, ‘आजादीको अमृत महोत्सव’ को एक हिस्सा थियो ।
तपाईको प्रतिक्रिया