रघुबीर र प्रभु भिड्दै

समाचार

काठमाडौं, ९ मंसिर । एमालेको प्रदेश २ का दुई नेताहरु रघुवीर महासेठ र प्रभु साह अध्यक्ष केपी ओली निकट हुन् । तर ती दुवै नेताहरु एमालेको १० औं महाधिवेशनमा सचिव पदका आकांक्षी देखिएका छन् ।

एमालेको केन्द्रीय महाधिवेशनमा प्रदेश २ बाट दुई दर्जनभन्दा बढी आकांक्षी नेताहरुको नाम चर्चामा छ । सबैभन्दा बढी चर्चा भने रघुवीर महासेठ र प्रभु साहको छ । यी दुई नेता सचिवमा भिड्ने योजनामा छन् ।

महासेठ धनुषाबाट प्रतिनिधित्व गर्छन् भने साह रौतहटबाट । प्रदेश २ बाट महासेठलाइ साहले चुनौती दिने देखिएपछि ओलीलाई दुई मध्ये एकलाई रोज्न समस्या हुने देखिएको छ ।

पछिल्लो एक दशकमा सांसद हुँदै उपप्रधानमन्त्रीसम्मको यात्रा गरेपछि एमालेभित्र महासेठको कद बढ्दै गइरहेको छ । 
प्रभु साह पनि मधेशको राजनीतिमा ठूलै नाम हुन् ।

उनी माओवादीको १० वर्षे सशस्त्र जनयुद्धमा सक्रिय रहे । माओवादी आन्दोलनलाई मधेशमा सक्रिय राख्न प्रभु साहको ठूलो भूमिका रहेको जानकारहरु बताउँछन् ।

तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा प्रभु साह पार्टीको केन्द्रीय सदस्य थिए भने उनलाई प्रदेश २ अध्यक्षको जिम्मेवारी समेत दिइएको थियो । सर्वोच्च अदालतले यी दुई दललाई ब्युँताइदिएपछि प्रभु साहले एमाले रोजे । अहिले उनी केपी ओेलीका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

एमाले केन्द्रीय सदस्यका लागि भने प्रदेश २ बाट एक दर्जनभन्दा बढी आकांक्षी छन् । महासेठ पत्नी जुली महतो, सुमन प्याकुरेल, हरिनारायण महतो, उत्तम गौतम, टेकबहादुर बलमपाकी, सुवोध यादव, रामदयाल मण्डल, लिलानाथ श्रेष्ठ, राजनारायण साह, बलवीर चौधरी, प्रभु हजरा, रामचन्द्र मण्डल, बसरुद्दिन अन्सारीलगायत नेताहरु केन्द्रीय सदस्यका लागि निर्वाचन लड्ने बताइएको छ ।

एमालेको दसौं महाधिवेशनका लागि प्रदेश २ बाट २३२ जना प्रतिनिधि छानिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ