काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ ।
जसपाको कार्यकारिणी समितिको बैठकबाट प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय भएको हो । अर्को निर्णय नआउन्जेलसम्मका लागि सांसद यादवलाई केन्द्रीय समितिबाट निष्काशन गरिएको हो ।
यादवलाई पार्टीको साधारण सदस्यबाटै हटाउने तयारी भएको थियो तर संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलगायत अन्य नेताहरुले साधारण सदस्यबाट हटाउन उचित नहुने धारणा राखेपछि केन्द्रीय समितिबाट मात्र हटाइएको हो ।
अध्यक्ष भट्टराईले सांसद यादवबाट गल्ती भएको ठहर गर्दै उनीमाथि अनुशासनको कारवाही हुनुपर्ने तर साधारण सदस्यबाटै हटाउन उचित नहुने धारणा राखेका थिए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रदीप यादवले कार्यकर्ता उतारेर गरेको आन्दोलनका बारेमा पार्टी कार्यालयका सचिव प्रकाश अधिकारीले बैठकलाई सम्पूर्ण जानकारी गराएका थिए ।
अधिकारीले बैठकमा प्रदीप यादवले १६ जना युवालाई टिकट काटेर काठमाडौं बोलाएकोसम्मको प्रमाण पेस गरेका थिए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि प्रदीप यादवलाई कारवाही गर्ने पक्षमा आफू नरहेको तर पार्टीभित्र अनुशासन कायम गर्नका लागि कुनै न कुनै कारवाही गर्नुपर्ने धारणा राखेका थिए ।
प्रदीप यादवले आफ्नो पुतला जलाएको भन्दा पनि पार्टीको झण्डा जलाउनु र पार्टी कार्यालयमा तोडफोड गर्न लगाउनु ठूलो गल्ती भएको अध्यक्ष यादवको भनाइ थियो ।
सांसद प्रदीप यादवलाई यसअघि पनि कारवाही भइसकेको हो । लातभियाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा पार्टीको नीति विपरीत तथा पार्टीलाई जानकारी नगराई भाग लिन गएको भन्दै सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो । उनीमाथि पार्टीले दोस्रो पटक कारवाही गरेको हो ।
यता यादवले पार्टीको निर्णयलाई सम्मान गर्दै थप छानविनका लागि माग गरेका छन् ।
यादवले भने, ‘पार्टीले गरेको निर्णयलाई सम्मान गर्छु तर जुन आरोप ममाथि लगाइएको छ, त्यसको सत्यतथ्य छानविन हुनुपर्छ, म अहिल्यै पनि भन्छु, म गलत छैन, म निर्दोष छु ।’
तपाईको प्रतिक्रिया