वीरगञ्ज, १२ मंसिर । । वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासले ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ बारे शुक्रबार छलफल गरेको छ ।
छलफलमा संविधानका विशेषताहरू तटस्थता, समावेशीता, परिमार्जनशीलता, प्रगतिशीलता, शक्ति पृथकीकरण, सरकारको कर्तव्य र नागरिकको मौलिक अधिकार संरक्षणको प्रत्याभूतिबारे प्रकाश पारिएको थियो ।
छलफलमा सन् १२१५ को म्याग्नाकार्टादेखि २०१५ को नेपालको संविधानसम्मको संविधानको इतिहासलाई प्रतिविम्वित गर्दै लोकतन्त्रको सफलताको लागि संविधान महत्वपूर्ण औजार भएको विवेचना गरिएको थियो ।
बलियो लोकतन्त्रको संविधानले यसका तीन खम्बा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नियन्त्रण र सन्तुलन राख्ने र यसले लोकतन्त्रको फलिफाप र सफलता सुनिश्चित गर्ने छलफलका सदस्यहरूले धारणा राखे ।
छलफलका सदस्यहरूले भारतको संविधानमा जोड दिँदै नेपालले पनि यसबाट केही प्रावधानहरू समावेशीकरण, प्रगतिशीलता, जनताको मौलिक अधिकारको सम्मान र न्यायपालिकाको सर्वोच्चता इत्यादि अंगिकार गर्न सक्ने सुझाव दिएका छन् ।
छलफलमा मोनिका सिंह, साहु विचार मञ्चका अध्यक्ष सुरेश कुमार, लक्ष्मी कर्ण, उच्च अदालतका अधिवक्ता रामेश्वर सेढाई, वीरगञ्ज कलेजका प्रिन्सिपल विनोद गुप्ता, जिल्ला अदालतका अधिवक्ता पन्नालाल गुप्तासहित थिए ।
त्यसैगरी प्रोफेसर अनिल कुमार सिन्हा, प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष जगदीश शर्मा, भारतीय कन्सुल जनरल नितेश कुमार, वीरगन्जका नागरिक समाजका सदस्य र वाणिज्य दूतावासका अधिकृत तथा अन्य सदस्यहरु छलफलमा सहभागी थिए ।
कार्यक्रममा नितेश कुमारले सहभागीहरूलाई धन्यवाद दिँदै संविधानले प्रदान गरेको अधिकारको संरक्षण र नागरिकले कर्तव्यको पालना गर्न व्यवस्था गरिएका उचित बन्देजको कदर गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया