सिमरा सेजमा विद्युतीकरण शुरु

समाचार

बारा, १६ मंसिर । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) सञ्चालनका लागि विद्युतीकरण शुरु भएको छ । सिमरा सेजको ५ वटा ब्लक छन् ।

तिनमा ‘ए’ ब्लकको ३ सय ४३ बिगाहामध्ये १ सय ६० बिगाहामा विद्युतीकरण गर्न थालिएको हो ।

१० करोड रूपैयाँको लगानीमा १ वर्षभित्र विद्युत प्रसारणलाइनको सबै काम सक्ने गरी भारतीय कम्पनी मल्टीटेक ट्रेड सर्कल प्रालिसँग सेजले सम्झौता गरेको हो ।

विशेष आर्थिक क्षेत्र सेजको ‘ए’ ब्लकमा उद्योग सञ्चालनका लागि सरकारले आवश्यक सम्पूर्ण भौतिक तथा प्रशासनिक संरचना निर्माण गरिसकेको छ ।

११ हजार भोल्टेजको विद्युत प्रसारण लाइनका लागि सेजमा पोल गाड्न थालिएको छ । बैंक, बिमा, भन्सार, प्रशासनिक भवन, खानेपानी, आन्तरिक सडक, नाला, वृक्षारोपण, दुधौरा खोलामा तटबन्धलगायत निर्माणमा उद्योग मन्त्रालयले अनुमानित ५ अर्ब खर्च गरिसके पनि जग्गाको भाडा महँगो भएको भन्दै उद्योगीहरू सेजमा आउन इच्छुक देखिएका छैनन् ।

विशेष आर्थिक क्षेत्र सेजका कार्यकारी प्रमुख चण्डिका भट्टले सेजभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगीका लागि जग्गाको भाडा घटाउने तयारी भइरहेको बताएका छन् ।

सिमरा सेजको ८ सय ३३ बिगाहामध्ये ‘ए’ ब्लकमा पूर्वाधार निर्माण भइसकेको छ भने बाँकी ब्लकमा विदेशी लगानी भित्र्याउने तयारी भएको सेजले जनाएको छ ।

बाराका प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले ‘ए’ ब्लकलाई खाली नराखी चाँडै उद्योग स्थापना गर्न आग्रह गरेका छन् ।
५ अर्बको लगानीमा निर्मित संरचना सदुपयोग नहुँदा स्थानीयले सेज सञ्चालनमै नआउने हो कि भन्ने आशंका गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ