पर्सा, १६ मंसिर । वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट’ हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगन्जले बुधबार पत्रकार सम्मेलन गरी व्यापार प्रवद्र्धन गर्न औद्योगिक तथा व्यापारिक नगरी वीरगन्जमा मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट गर्न लागेको जनाएको छ ।
नेपाली युवा उद्यमीको जोश, जाँगर र प्रतिभा आदानप्रदान गरी मुलुकको आर्थिक विकासमा टेवा दिन एक्स्पो गर्न लागिएको संस्थाका अध्यक्ष अनुप अग्रवालले बताए ।
युवा उद्यमीमा रहेको नयाँ सोच र उद्यम प्रवर्द्धन गर्न फागुन १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुने उनले बताए ।
एक्स्पोमा उद्यम र व्यापारमा लागेका युवालाई प्रभावकारी तालिम सञ्चालन गर्दै व्यापार व्यवसायका विभिन्न ज्ञान, सिप, अध्ययन र अनुसन्धान आदानप्रदान पनि गर्ने आयोजक एनवाइइएफले जनाएको छ ।
यो मेलामा स्वदेशी सीप र उद्यमको प्रवर्द्धनबाहेक विदेशी उत्पादन नराखिने आयोजक संस्थाले बताएको छ ।
स्वदेशी वस्तु तथा सेवा व्यवसायको मात्र प्रदर्शनी हुनेछ । कुल १ सय ३० स्टल राखिने एक्स्पोमा स्टलको साइज र ठाउँ हेरी ३० हजारदेखि ७५ हजारसम्म लिने तयारी भइरहेको आयोजक संस्थाका अध्यक्ष अग्रवालले बताए ।
उत्पादक र ग्राहकबीच प्रत्यक्ष साक्षात्कार गर्ने र उपभोक्तालाई स्वदेशी उत्पादनबारे जानकारी दिन एक्स्पो गरिन लागेको आयोजक एनवाइइएफले जनाएको छ ।
मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको पनि पूर्ण साथ रहने महासंघको प्रदेश २ का अध्यक्ष गणेश लाठले बताए ।
तपाईको प्रतिक्रिया