जनकपुरधाम, १९ मंसिर । प्रदेश २ मा कांग्रेस सभापतिका लागि हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय रौतहटका जिल्ला सभापति कृष्ण यादव दाबेदार छन् ।
देउवा पक्षबाटै केन्द्रीय सभपतिका दावेदार उपसभापति विमलेन्द्र निधिनिकट प्रदेश २ कांग्रेस संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव पनि मैदानमा छन् ।
हालसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला पक्षबाट कसैले उम्मेदवारी घोषणा गरेका छैनन् । अर्का नेता रञ्जीत कार्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कर्णले आफू स्वतन्त्रबाट उम्मेदवारी दिए पनि रामचन्द्र पौडेल र शशांक कोइराला समूहको समर्थन रहने बताएका छन् ।
पार्टीभित्रको विवादले प्रदेश २ मा नेपाली कांग्रेसको प्रदेश कार्य समिति अधिवेशन अन्योल बनेको छ । ६ वटा प्रदेशमा कांग्रेसको अधिवेशन जारी छ । तर, प्रदेश २ मा ६ वटा निर्वाचन क्षेत्रमा अझै प्रतिनिधि छनोट हुन सकेको छैन ।
सर्लाहीको चारवटै निर्वाचन क्षेत्र लगायत १० वटा वडाको वडा अधिवेशन समेत विवादको कारण अन्योलमा छ । यस्तै बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।
महोत्तरी क्षेत्र नं. ३ पनि विवाद छ । त्यहाँ एकपक्षले अधिवेशशन सम्पन्न भएको दावी गरेका छन् ।
तर शनिबार एकपक्षले आफुलाई अपहरण गराएर प्रमाणपत्रमा हस्ताक्षर गराएको भन्दै धिरेन्द्र मण्डलले राजीनामा दिएका छन् ।
त्यस क्षेत्रमा अधिवेशनको क्रममा गत बुधबार झडपसमेत भएको थियो । कांग्रेसका उपसभापति विमलेन्द्र निधि र बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो ।
सर्लाहीमा संस्थापन पक्ष र संस्थापन इतर पक्षको व्यापक विवादले अधिवेशन स्थगित भएको छ । सबै क्षेत्रीय तथा बाँकी १० वटै वडाको अधिवेशन गर्ने विषयमा शुक्रबार नै दुवै पक्षकौ बैठक बसेको थियो ।
वार्तामार्फत विवाद समाधान गर्ने प्रयास गरेपनि बिनानिष्कर्ष बैठक सकिएकाले अधिवेशनको टुंगो लाग्न नसकेको कांग्रेस सर्लाहीका जिल्ला सभापति नागेन्द्र राय यादवले बताए ।
बाँकी ७ वटा निर्वाचन क्षेत्र मध्ये सप्तरी ४ मा आइतबार अधिवेशन हुन लागेको काँग्रेस प्रदेश २ का अधिवेशन संयोजक रमेश रिजालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया