सप्तरीमा एपिएफ स्कुल सञ्चालनमा

समाचार

राजविराज, २० मंसिर । प्रदेश १ र २ का लागि सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार एपिएफ स्कुल उद्घाटन भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आइतबार एक समारोहबीच उद्घाटन गरेका हुन् ।

राजधानी बाहिर प्रदेश १ र २ लाई पायक पर्ने गरी विद्यालय सञ्चालन गरिएको जानकारी दिंदै महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारी एवं स्थानीय नागरिकका सन्ततिको गुणस्तरीय शिक्षादीक्षामा यसले योगदान पुग्ने चर्चा गरे।

महानिरीक्षक खनालले शिक्षा सभ्य र सुसंस्कृत समाज निर्माणको आधारशिला भएको बताए। शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र राष्ट्र समृद्धिको बाटोमा अगाडि बढ्ने उनले बताए ।

विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी अध्यापन गराइने विद्यालयमा समावेशक सशस्त्र डिएसपी भुवन सिंह ठकुरीले बताए ।

ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि ६ करोड ५१ लाख खर्च भएको र छात्रावास, मेस, व्यारेकका लागि ७ करोड ४९ लाख रुपैयाँको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा जग्गादाता जोगृन्द्र भगत र उनकी श्रीमती ठाकोदेबी भगतलाई महानिरीक्षक खनालले प्रशंसापत्रसहित सम्मान गरे ।

सो विद्यालय निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष समेत रहेका जोगेन्द्र भगत दम्पतिले ८ बिगहा ११ कठ्ठा जग्गा निशुल्क दान गरेका हुन् ।

सम्मानित जोगेन्द्र भगतले आफूले भविष्यमा क्याम्पस बन्ने सपना देखेको र सो का लागि थप २–३ बिगहा जग्गा दान गर्ने संकल्प गरेको बताए ।

नेपाल एपिएफ स्कुल प्रहरीबलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा कीर्तिपुर र कोहलपुरपछि शम्भुनाथमा एपिएफ विद्यालय सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ