निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न देउवाले पदको दुरुपयोग गर्दैछन् : डा. सिंह

समाचार

काडमाडौं, २० मंसिर । सर्लाही निर्वाचन क्षेत्र नं. ४ का निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले पदको दुरुपयोग गरेको सभापति शेरबहादुर देउवाप्रति आरोप लगाएका छन् ।

पार्टीको वडा अधिवेशनमा सभापति शेरबहादुर देउवाकै निर्देशनमा हस्तक्षेप भएको उनले आरोप लगाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ मा वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन चयन गर्ने प्रक्रिया चलिरहेको भन्दै उनले सभापति देउवाले नै हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

‘मतदान अधिकृत अपहरण गराउने, गोली चलाउन लगाई क्रियाशील सदस्यहरूमा भय, डर र त्रास दिलाउने कार्य कसैसँग लुकेको छैन,’ सत्ताको आडमा यस्तो भइरहेको सिंहको भनाइ छ ।

साथै सप्तरी ४ र  रौतहट ४ मा पनि सभापति देउवाले प्रत्यक्ष रूपमा दबाब दिएको आरोप उनको छ ।

निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन देउवा पक्षले हरप्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरूपयोग गर्नु विधिसम्मत नहुने पनि उनले आइतबार प्रेस विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।

क्रियाशील सदस्यता लिनका लागि फारम नदिनेदेखि विभिन्न प्रकारका जालझेलसमेत गरेर अधिवेशनमा ढिलाइ गरिएको पनि उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ