जनकपुरधाम, २० मंसिर । मर्यादा पुरुषोत्तम भगवान श्रीराम र माता जानकीको सप्ताहव्यापीरुपमा मनाइरहेको विवाहोत्सवमा आज तिलकोत्सव गरिएको छ ।
तिलकोसत्वमा भगवान रामका पिता दशरथ र माता जानकीका पिता जनकले सम्धी मिलन गरेको स्मरण गर्दै जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास र जनकपुरधामकै राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका छन् ।
रामरोशनले बेहुलीको र गिरीले बेहुलाको प्रतिनिधित्व गरेका छन् । दुबैले अंकमाल गरेपछि सम्धी मिलन भएको मानिन्छ ।
राम मन्दिरमा तिलकोत्सव विधि गर्नुअघि जानकी मन्दिरबाट बाजागाजासहित एक टोली राम मन्दिर पुगेको छ । जानकी मन्दिरबाट फलफूल, मिष्ठानसहितका भार बनाएर राम मन्दिर पुग्ने प्रचलन रही आएको छ ।
जानकी मन्दिरबाट भार लिएर राम मन्दिर जाने क्रममा श्रद्धालुहरुको भीड लागेको थियो । तिलकोत्सवमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि सहभागी थिए ।
तपाईको प्रतिक्रिया