जनकपुरधाम, २० मंसिर । श्रीराम जानकी विवाहोत्सवको अवसरमा प्रदेश नं. २ को सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सप्ताहव्यापीरुपमा मनाइने विवाह पञ्चमीअन्तर्गत बुधबार वैवाहिक कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शुभकामना सन्देश जारी गरी सार्वजनिक बिदाको साथै विवाह पञ्चमीमा सहभागी हुन अपिलसमेत गरेका छन् ।
‘त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने साताव्यापी विवाह पञ्चमी महोत्सवको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरु तथा यस महोत्सवमा सहभागी हुन जनकपुरधाम पाल्नु भएका सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्री राउतले शुभकामना सन्देशमा भनेका छन् ।
उनले कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई महोत्सवमा सहभागी हुन श्रद्धालु भक्तजनमा अपिल गरेका छन् ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया