जनकपुरधाम–७ का वडाध्यक्षले जलाए मेयरको पुतला

समाचार

जनकपुरधाम, २१ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाईमा मेयर लालकिशोर साहको पुतला जनाइएको छ ।

सोमबार साँझ तपसी चोक नजिकै थुपारिएको फोहोरमा आगो लगाउँदै उनीहरुले मेयरको पुत्लासमेत जलाएका छन् ।

विवाहपञ्चमी महोत्सव चलिरहँदा पनि मेयरले नगरलाई सफा बनाउन नसकेको भन्दै वडा अध्यक्ष साह, वडा सदस्यहरु एवं स्थानीय मिलेर मेयरको पुत्ला जलाएका हुन् ।

पुत्ला जलाउने क्रममा उनीहरुले ‘भ्रष्ट मेयर मुर्दावाद, जनकपुरलाई सफा गर, घूसखोर मेयर मुर्दावाद, जनकपुरको फोहोर व्यवस्थापन गर’ जस्ता नारा लगाएका थिए ।

वडा अध्यक्ष साहले जानकी मन्दिर, जनक चोक र राम मन्दिर मात्रै सरसफाइ गरेर नहुने भन्दै विवाह पञ्चमीमा डोला परिक्रमा गराइने हरेक ठाउँमा फोहोर नै रहेको बताए । बारम्बार भन्दा पनि मेयरले यसतर्फ ध्यान नदिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ