संघीयता र लोकतन्त्र माथि खतरा देखिए पुनः संघर्षमा उत्रिन्छौं : उपेन्द्र यादव

समाचार

जनकपुरधाम, २१ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशी जनताको काँधमा रहेको बताएका छन् ।

जसपा नेपाल महोत्तरीद्वारा सोमबार लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनआन्दोलन र मधेश विद्रोहको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी मधेशीको काँधमा रहेको जिकिर गरेका हुन् । 

केपी शर्मा ओलीले संघीयता र गणतन्त्र मास्न गरेको प्रयासलाई आफूहरु एक पटक असफल तुल्याइ सकेको भए पनि खतरा अझै कायम रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि आफूहरु सदैव सजग रहेको बताए ।

पहिलो मधेश विद्रोहबाट शुरु भएको संघर्षको यात्रा अझै जारी रहेको दावी गर्दै अध्यक्ष यादवले संघीयता र लोकतन्त्र माथि खतरा देखिए पुनः संघर्षमा उत्रिने चेतावनी समेत दिए ।

सडकबाट शुरु भएको संघर्षको यात्रा अहिले सदन र सरकारको मोर्चा बाट जारी रहेको बताउँदै अध्यक्ष यादवले आवश्यकता परे पुनः सडक संघर्षमा उत्रिन बेर नलाग्ने चेतावनी दिए । 

कार्यक्रममा जसपा कार्यकारिणी सदस्य राजकिशोर यादवले मुलुकमा अझै कायम रहेको विभेदकारी राज्य सत्तालाई ढालेर समतामूलक राज्य निर्माणका लागि जसपा सदैब तयार रहेको बताए । 

उनले जसपा पार्टी मात्र नभई उत्पीडित वर्गको सम्मान र पहिचानका लागि संघर्षको पर्याय समेत रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ