उत्पीडित वर्गको सम्मानका लागि जसपा प्रतिबद्ध : मुख्यमन्त्री राउत

समाचार

जनकपुरधाम, २१ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले उत्पिडित वर्गको सम्मानको लागि जनता समाजवादी पार्टी नेपाल प्रतिवद्ध रहेको बताएका छन् । 

सोमबार महोत्तरीको लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले राष्ट्रिय संरचनामा सबैभन्दा समावेशी पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी उत्पीडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको दावी गरे ।

मुलुकमा प्रजतान्त्र स्थापनापछि पटक–पटक सरकारमा गएको काँग्रेस र कम्युनिष्टहरुले जनताको भरोसा गुमाइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार मधेश आन्दोलनको भावना र उत्पीडित वर्गको सम्मानका लागि एक पछि अर्को लोकप्रिय कार्यक्रमहरु ल्याइसकेको बताए ।

उनले प्रदेश सरकारले ल्याएको आरक्षण सम्बन्धि व्यवस्था विश्वकै उत्कृष्ट गरेको दावी गर्दै आरक्षणको सुविधा प्राप्त गर्न दलित, महिला, मुस्लिम लगायतको समुदायलाई  बालबालिकाको शिक्षामा जोड दिन आग्रह समेत गरे । 

महोत्तरी जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य करिमा बेगम, संविधानसभा सदस्य धर्मेन्द्र साह सहितका वक्तहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका महोत्तरी निर्वाचन क्षेत्र नं. २ का सयौ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष उपेन्द्र यादव सहितका अतिथिहरुले अबिर माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ