काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सभापतिको दौडमा रहेका निधिले वानेश्वरमा सम्पर्क कार्यालय खोलेर आफनो चुनावी अभियान जारी राखेका छन् ।
निधिलाई पार्टी सभापति शेरबहादुर देउवाको साथ पाएका छैनन् । देउवा आफै सभापतिमा लड्ने निर्णय गरिसकेकाले निधिलाई सहयोग र समर्थन गर्ने कुरै आएन । अर्को तर्फ संस्थापन इतर समूहको नेतृत्व गरिरहेका रामचन्द्र पौडेल समूहबाट चार जना सभापतिका आकांक्षी छन् ।
पौडेल स्वयंसहित प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । यद्यपी उनीहरुबीच साझा उम्मेदवार को हुने टुंगो नलाग्दा सिंह र शेखरले चुनावी अभियान सुरु गरिसकेका छन् । त्यसैले यी चार नेताहरुबाट पनि निधिले समर्थन पाउने सम्भावना छैन ।
यद्यपी निधिले आफनो टमि पनि बनाएका छैनन् । उनलाई समर्थन गर्नेहरुमा नाम चलेका कोही नेताहरु छैनन् । थारु समुदायको मत थुपारेका अर्को उपसभापति विजयकुमार गच्छदार पनि देउवासँगै छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका निधि यतिखेर पार्टी भित्रैबाट एक्लिएका जस्तै भएका छन् ।
चुनावी अभियानमा निधि यति अगाडि बढिसकेका छन् कि उनी पछि हट्ने सम्भावना पनि न्यून छ । सभापति पदका लागि स्वयं देउवा आफै अगाडि आएपछि निधिसहित अन्य नेताले चुनाव जित्ने कल्पना पनि गर्न सकिदैन ।
निधिले चुनाव जितिन्न भन्ने थाहा हुँदाहुदै किन उम्मेदवारी घोषणा गरे? किन उनले टिम बनाएनन? यसको जबाब समयले नै दिनेछ तर जानकारहरुकाअनुसार निधिले आफना पिता महेन्द्र नारायण निधिको लिगेसीलाई भजाएर चुनाव लड्न खोजेका हुन ।
संस्थापन पक्षका मधेशका केन्द्रीय नेताहरू देउवाको पक्षमा उभिएको अवस्था छ । सभापतिमा देउवा र निधि आमने–सामने हुने अवस्थामा निधिलाई कसरी मत दिनेमा मधेशका नेताहरू अन्योलमा छन् ।
काँग्रेसभित्र मधेशमा आफ्नो जनाधार ठान्ने निधिसँग संस्थापन पक्षका नेता कार्यकर्ता खुलेर लाग्न सकेको अवस्था अहिलेसम्म छैन । संस्थापन पक्षकै नेताहरू निधिको पक्षमा खुल्न नचाहेपछि काँग्रेस संस्थापन इतर पक्षका नेताको पनि निधिप्रति झुकाव देखिएको छैन ।
लामो समय देउवा गुटको नेताको पहिचान बनाएका निधिलाई मधेशको साझा नेता बन्न कठिन छ । अझ देउवा पुनः सभापति बन्न मैदानमा उत्रिएपछि मधेशमै निधिको पक्षमा माहौला बन्न गाह्रो देखिएको छ ।
मधेशमा उनको पक्षमा खुलेर लाग्ने, बोल्ने नेता तथा कार्यकर्ता निकै कम छन् । प्रदेश २ का ८ जिल्लामध्ये धनुषा र पर्साका वर्तमान सभापति मात्र उनको पक्षमा खुलेर लागेका छन् । अरू पौडेल पक्ष वा देउवा पक्षका लागि माहौल बनाइ रहेका छन् ।
मधेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने रमेश रिजाल, चित्रलेखा यादव, आनन्द ढुंगाना, फरमुल्लाह मन्सुर, अजयकुमार चौरासिय, महेन्द्र यादव, जंगीलाल रायले पनि निधिलाई साथ दिएका छैनन् ।
पछिल्लो समय निधिका पक्षमा लबिङ गरिरहेका मधेशबाट प्रतिनिधित्व गर्ने काँग्रेसका प्रभावशाली नेता प्रदीप गिरी बिरामी भएर भारतमा उपचाररत छन् ।
यता संस्थापन इतर पक्षका नेता रामकृष्ण यादव र किरण यादवमा छन् भने खानेपानी मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरी कृष्णप्रसाद सिटौलाको साथमा छन् । वर्तमान केन्द्रीय कार्यसमितिमा निधि एक्लो जस्तै छन् ।
८ सयभन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेको प्रदेश २ नै उनको पक्षमा कति महाधिवेशन प्रतिनिधि उभिन्छन् भन्न कठिन छ ।
काँग्रेस नेताहरूका अनुसार उनको उम्मेदवारी घोषणा र मधेशको महोल हेर्दा निधिका लागि राम्रो सङ्केत देखिएको छैन । पूर्व उपप्रधानमन्त्री तथा पार्टीको उपसभापति निधिले जिम्मेवारी अनुसार आफ्नो उपस्थिति विस्तार गरेको देखिएको छैन । प्रदेश २ मात्र होइन अन्य प्रदेशमा पनि निधि भनेर कार्यकर्ता खुलेर आउन सकेको देखिँदैन ।
राजनीति विश्लेष्क पुरञ्जन आचार्य निधिले सभापतिमा जित्ने आधार सुनिश्चित नरहेको बताउँछन् । उनले भने, ‘विमलेन्द्र निधि जित्न नसक्ने मुख्य कारण उहाँले शेरबहादुर देउवालाई आफ्नो साथमा लिन सक्नुभएन । अन्य फ्याक्टरहरु पनि छन् । निधिलाई नेपालको जुन फरक–फरक सांस्कृतिक समूहहरु छन्, त्यहाँ उहाँलाई स्वीकार्न सक्ने ठूलो छाती भएको पात्रहरु छन् जस्तो लाग्दैन ।’
निधिले प्रदेश २ मा संगठन भन्दा पनि व्यक्तिगत मत ल्याउन सक्ने आकंलन छ । निधिको निश्चित मतदाता निकै कम रहेकाले उनले मत पनि कमै ल्याउन सम्भावना पनि छ । देउवा आफैँ सभापतिको उम्मेदवार भएकाले निधिलाई समस्या भएको हो ।
अर्को समस्या भनेको मधेशमा देउवा र निधिका एउटै मतदाता छन् । कार्यकर्ताले निधिभन्दा देउवालाई मत दिने कतिपयको भनाइ छ ।
निधि निकट एक कार्यकताले भने, ‘देउवाजी अहिले प्रधानमन्त्री हुनुहुन्छ, गृह मन्त्रालयदेखि अन्य मन्त्रालय पनि उहाँकै गुटका छन्, त्यसले अवश्य फरक पर्न सक्छ, निधिजी अहिले सरकारमा हुनुहुन्न । त्यही भएर चुनावमा उहाँले कति मत तान्न सक्नुहुन्छ त्यो उहाँको क्षमतामा भर पर्ने कुरा हो ।’
निधि पनि पार्टीका शक्तिशाली नेता भएको भन्दै महाधिवेशनमा उनको शक्ति कति छ भनेर यो महोधिवेशनले देखाउने छ । उनले कति मत तान्न सक्छन् त्यो उनको शक्तिमा भर पर्छ । महाधिवेशन उनको लागि शक्ति परीक्षण पनि हो ।
तपाईको प्रतिक्रिया