यस्तो छ महाधिवेशन कार्यक्रम

समाचार

काठमाडौं, २४ मंसिर । आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुने र हलमा बन्द सत्र हुनेछ। कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा निर्वाचनको प्रक्रियाको काम गर्ने जनाएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्य समितिको निर्वाचनका लागि यही मङ्सिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मङ्सिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी मङ्सिर २६ गते नै बिहान १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर २७ गते विहान ८ बजेदेखि मतदान सुरु गर्ने समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

चार हजार ७०० महाधिवेशन प्रतिनिधि हुने

यस महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ । कांग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ