काठमाडौं, २४ मंसिर । भारतीय राष्ट्रिय कांग्रेसका नेता मुकुल वासनीकले भारत र नेपालबीचको सम्बन्ध शशक्त हुनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता वासनीकले भने, ‘भारत नेपालमा स्थायीत्व रहोस् भन्ने चाहन्छ । हाम्रो पुरानो मित्रताको सम्बन्ध छ ।’ उनले नेपाली कांग्रेसको महाधिवेशनमा आउन पाउँदा खुसी लागेको बताए ।
उनले भने, ‘भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध छ । यो सम्बन्ध निरन्तर रहनुपर्छ ।’
वासनिकले नेपाल–भारतको सम्बन्ध विश्वका अन्य देशभन्दा फरक रहेको बताए । उनले नेपाली काँग्रेसको महाधिवेशनमा मन्तव्य दिँदा गौरव महसुस भएको धारणा राखे ।
दुई पार्टीको बीचमा राम्रो सम्बन्ध रहेको र दुई पार्टीका बीचमा एक अर्काको कुरा अदानप्रदान भइरहेको बताउँदै उनले नेपाल–भारतको बीचमा पनि छुट्टै सम्बन्ध रहेको बताए ।
खुल्ला सीमाका कारण दुई देशको बीचमा आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उनको भनाइ थियो ।
‘दुई देशको बीचमा केही समस्या हुनसक्छ, तर त्यसलाई दुवै देशले मिलेर समाधान गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि भारतीय काँग्रेसले के भूमिका खेल्नुपर्छ त्यो भूमिका खेल्न तयार छौँ ।’
नेता वासनिकले भारतीय काँग्रेसका अध्यक्ष सोनिया गान्धीले पठाएको शुभकामना सन्देशको बारेमा पनि जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया