काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ठाकुरले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले १३९ जना नेता कार्यकर्ताहरुलाई जेलमुक्त गरेको स्मरण गर्दै अझै समस्याहरु बाँकी रहेको बताए ।
१३९ जनालाई जेलमुक्त गरिदिएकोमा ओलीलाई धन्यवाद दिँदै ठाकुरले बाँकी रहेका समस्या पनि सम्बोधनका लागि सरकारसँग आग्रह गरे ।
ठाकुरले न्यायालय विवादको निरुपण अदालत आफैँले छिनोफानो गर्नुपर्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतको पनि त्यही अवस्था छ । जनताले पाउनुपर्ने न्याय पाउनमा असर परिरहेको छ । अदालत आफ्नै विवादमा फसेको छ । दुनियाँको छिनोफानो गर्ने सर्वोच्च अदालत आफैँले छिनोफानो गर्नुपर्छ । अरुले हस्तक्षेप गर्न मिल्दैन ।’
उनले पार्टी सिस्टममा पार्टीले सरकार बनाउने भन्दै अहिले हाम्रो देशमा संसद राम्ररी काम गर्न नसकेको बताए । ‘देउताहरु समुद्र मन्थन गरेर रत्न प्राप्त गरेका थिए । तपाइँहरु जनमन्थन प्राप्त गरी यहाँ आउनुभएको छ,’ उनले भने ।
उनले आफूहरुको असन्तुष्टि वर्तमान संविधानमा रहेको बताए । ‘संविधानमा हाम्रा केही असन्तुष्टिहरु छन्। निर्वाचित हाम्रा सांसदहरु जेलमा छन् ।
क्रान्तिको लागि भएको आन्दोलनको छिनोफानो राजनीतिकरुपले हुनपर्छ भन्ने हाम्रो माग हो । हाम्रा माग सम्बोधन नहुने हो भने ज्वालामुखीजस्तै विष्फोट हुन्छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया