‘कांग्रेस महाधिवेशनमा आदिवासी खस क्षेत्री समुदायलाई उपेक्षा गरियो’

समाचार

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा आदिवासी खस क्षेत्री समुदायलाई उपेक्षा गरिएको आदिवासी खस क्षत्री महासंघ नेपालले गुनासो गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै बहुसंख्यक खस समुदायको साझा संस्था आदिवासी खस क्षेत्री महासंघ नेपाली कांग्रेसको विधानअनुसार सुभेच्छुक संस्थाको रुपमा आबद्ध हुन सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको थियो । 

कांग्रेसको केन्द्रीय कार्यालय वि.पी. नगरमा दर्ता समेत गरिएकोमा हाल आएर कांग्रेसको १४औं महाधिवेशनको पूर्व सन्ध्यामा सुभेच्छुक संस्थाका रुपमा आबद्धता नगराइएकोमा ध्यानाकर्षण गराउँदा पनि बहुसंख्यक खस समुदायलाई उपेक्षा गरिएको गुनासो छ ।

महाधिवेशनमा प्रतिनिधित्व रहनबाटसमेत वञ्चित गराएको गुनासो गर्दै महासंघले विज्ञप्तिमा भनेको छ, ‘यस अधिवेशनमा नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने भूमिका महाधिवेशन प्रतिनिधिहरुको प्रमुख रहेकोले आम खस समुदायलाई उपेक्षित गर्ने नेताहरुलाई यस विषयको स्मरण गराउँदै केन्द्रीय नेतृत्व चयन गर्नसमेत हार्दिक अपिल गर्दछौं ।’

विभिन्न जातजातिलाई यस पार्टीभित्र सम्मानजनक उपस्थिति रहनेगरी ढोका खुला राख्न र निकट भविष्यमा हुन गइरहेको स्थानीय/आम निर्वाचनमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आस्था, निष्ठा र विश्वा राख्ने आम आदिवासी खस क्षेत्री समुदाय लगायत सम्पूर्ण जातजातिहरुको भावनाअनुसार उच्च मनोबल बनाई यस विषयमा समयमा नै कांग्रेस केन्द्रीय नेतृत्वलाई आग्रह गरिएको छ । 

साथै पार्टीको विधानअनुसार शुभेच्छुक संस्थाको रुपमा आबद्धता गराउन महासंघले अपिलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ