काठमाडौं, २५ मंसिर । जयराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिता काठमाडौं ओपनको उपाधि जितेका छन् । व्यवसायिक गल्फर जयरामले उपाधि जितेको करियरकै यो पहिलो हो ।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न प्रतियोगिताको अन्तिम दिन जयरामले ४ अन्डर ६४ स्कोर गरे । जयरामले समग्रमा ९ अन्डर २६३ स्कोर गरेका थिए ।
उनले नम्बर एक भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारेका हुन् । भुवनले अन्तिम २ अन्डर ६६ स्कोर गरेका थिए । उनले कुल ७ अन्डर २६५ स्कोर गरे । दिनेश प्रजापतिले तेस्रो स्थान हात पारे । दिनेशले इभन पार ६८ सहित ५ अन्डर २६७ स्कोर गरेका थिए ।
विजेता जयरामले एक लाख १० हजार रुपैयाँ पुरस्कार जिते । दोस्रो भएका भुवनले ७४ हजार रुपैयाँ पुरस्कार जिते । तेस्रो स्थान हासिल गरेका दिनेशले ६० हजार रुपैयाँ जिते ।
कुमार कामी, भुवनकुमार रोक्का र रवि खड्का संयुक्त रूपमा तेस्रो स्थानमा रहे । सबैले समग्रमा ३ अन्डर २६९ स्कोर गरे । तीनै जनाले जनही ४२ हजार रुपैयाँ पुरस्कार जिते ।
शुक्रबहादुर राईले सातौँ स्थानमा रहे । उनले २ अन्डर २७० स्कोर गरे । शुक्रबहादुरले ३२ हजार रुपैयाँ जिते । धनबहादुर प्रजापति र सञ्जय लामा संयुक्त रुपमा आठौँ स्थानमा रहे ।
दुवैले २ अन्डर २७४ स्कोर गरे । दुवैले समान २६ हजार ५०० रुपैयाँ पुरस्कार जिते । दसौँ स्थानमा रहेका विनोद तामाङले २३ हजार रुपैयाँ पुरस्कार जिते ।
५५ गल्फर सहभागी प्रतियोगितामा ४० व्यावसायिक र १५ एमेच्योर गल्फर सहभागी थिए ।
सूर्य नेपाल गल्फ टुरको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन धरानमा डिसेम्बर २७ देखि ३० सम्म हुनेछ ।
तपाईको प्रतिक्रिया