‘नेपाल र भारतबीच पर्यटनको अथाह सम्भावना’

समाचार

काठमाडौं, २६ मंंसिर । नेपाल र भारत सांस्कृति तथा धार्मिक समानताका साथै सदियौंदेखिको निकट सम्बन्धका पर्यटनको अथाह सम्भावना रहेको एक कार्यक्रममा चर्चा गरिएको छ ।

दुवै देशले पर्यटनसम्बन्धी साझा कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिँदै साझेदारीमा प्रवर्धन गर्न सके दुवै देशलाई फाइदा पुग्ने उनीहरूको धारणा छ ।

एसोसिएशन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तरराष्ट्रिय कन्भेन्सनका वक्ताले यो कुरामा जोड दिएका हुन् ।

सम्मेलनका अवसरमा अन्तरराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको २ हजार ५६६ वर्ष र यसको सान्दर्भिकता विषयक छलफल पनि आयोजना गरियो ।

सम्मेलनको उद्घाटन गर्दै भारतको दिल्लीका महिला बालबालिका, अल्पसङ्ख्यक तथा समाज कल्याणमन्त्री राजेन्द्रपाल गौतमले नेपाल र भारतबीच पर्यटनको अथाह सम्भावना रहेकाले आपसी सहकार्यमा अघि बढाउनुपर्ने बताए ।

उनले बुद्धसँग सम्बन्धित विषय नेपाल र भारत दुवै देशसँग जोडिएकाले पनि धार्मिक पर्यटनका लागि आपसी सहकार्य आवश्यक भएको र यसबाट दुवै देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने धारणा राखेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले बुद्धजन्मस्थल नेपालमा रहेको र त्यसपछिका स्थान भारतमा रहेकाले सहकार्य गरेर काम गर्न सकेमा धार्मिक पर्यटनलाई अगाडि बढाउन सकिने बताए ।

उनले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा रहेकाले उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्धसँग सम्बन्धित धार्मिक पर्यटन बढ्ने अपेक्षा गरे ।

नेपाल एसोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बुद्धसँग सम्बन्धित रहेर काम गर्ने गरी नेपालले समेत आउने मार्चमा लुम्बिनीमा बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुँदै बुद्धजन्मस्थलबारे वेलावेला हुने भ्रम चिर्न र पर्यटकलाई सही जानकारी दिन भारतीय टुर अपरेटर तथा सरोकारवालालाई आग्रह गरे ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानका महासचिव सरिता लामाले नेपाल र भारतबीच बुद्ध धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसबाट दुई देशले फाइदा लिने गरी मिलेर काम गर्न आग्रह गरिन् ।

होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनी र भारतमा रहेका बुद्धसाइटलाई समेटेर बुद्ध सर्किट बनाएर विश्व समुदायमा यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा कोलकाता पर्यटनका एसिस्टेन्ट डाइरेक्टर बिबी मुखर्जी, ब्रिगेडियर जनरल वीरेन्द्र सिंह, भारतीय रेलवेका रजिष्ट्रार अस्मिता सिंह लगायतले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिन सुझाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ