काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको आधारभूमि मधेश । मधेशबाट कांग्रेसले मत मात्रै लिने तर न्याय नदिने भन्ने आरोपहरु छन् । एकल जातीय संरचनाका कारण नेपाली कांग्रेसलाई पहाडी कांग्रेस पनि भन्ने गरिन्छ ।
तर, कांग्रेसको इतिहासमै पहिलोपटक मधेशी मूलका कुनै नेताले सभापतिका लागि आफ्नो उम्मेदवारी दिने आँट गरेका छन् । उनी हुन् विमलेन्द्र निधि । लामो समय देउवा गुटको नेताको पहिचान बनाएका निधिलाई मधेशको साझा नेता बन्न कठिन छ ।
अझ देउवा पुनः सभापति बन्न मैदानमा उत्रिएपछि मधेशमै निधिको पक्षमा माहौला बन्न गाह्रो देखिएको छ । मधेशमा उनको पक्षमा खुलेर लाग्ने, बोल्ने नेता तथा कार्यकर्ता निकै कम छन् ।
प्रदेश २ का ८ जिल्लामध्ये धनुषा र पर्साका वर्तमान सभापति मात्र उनको पक्षमा खुलेर लागेका छन् । अरू पौडेल पक्ष वा देउवा पक्षका लागि माहौल बनाइ रहेका छन् ।
मधेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने रमेश रिजाल, चित्रलेखा यादव, आनन्द ढुंगाना, फरमुल्लाह मन्सुर, अजयकुमार चौरासिय, महेन्द्र यादव, जंगीलाल रायले पनि निधिलाई साथ दिएका छैनन् ।
यता संस्थापन इतर पक्षका नेता रामकृष्ण यादव र किरण यादवमा छन् भने खानेपानी मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरी कृष्णप्रसाद सिटौलाको साथमा छन् । वर्तमान केन्द्रीय कार्यसमितिमा निधि एक्लो जस्तै छन् ।
८ सयभन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेको प्रदेश २ नै उनको पक्षमा कति महाधिवेशन प्रतिनिधि उभिन्छन् भन्न कठिन छ । काँग्रेस नेताहरूका अनुसार उनको उम्मेदवारी घोषणा र मधेशको महोल हेर्दा निधिका लागि राम्रो सङ्केत देखिएको छैन ।
पूर्व उपप्रधानमन्त्री तथा पार्टीको उपसभापति निधिले जिम्मेवारी अनुसार आफ्नो उपस्थिति विस्तार गरेको देखिएको छैन । प्रदेश २ मात्र होइन अन्य प्रदेशमा पनि निधि भनेर कार्यकर्ता खुलेर आउन सकेको देखिँदैन ।
निधिले प्रदेश २ मा संगठन भन्दा पनि व्यक्तिगत मत ल्याउन सक्ने आकंलन छ । निधिको निश्चित मतदाता निकै कम रहेकाले उनले मत पनि कमै ल्याउन सम्भावना पनि छ । देउवा आफैँ सभापतिको उम्मेदवार भएकाले निधिलाई समस्या भएको हो ।
अर्को समस्या भनेको मधेशमा देउवा र निधिका एउटै मतदाता छन् । कार्यकर्ताले निधिभन्दा देउवालाई मत दिने कतिपयको भनाइ छ ।
निधि निकट एक कार्यकताले भने, ‘देउवाजी अहिले प्रधानमन्त्री हुनुहुन्छ, गृह मन्त्रालयदेखि अन्य मन्त्रालय पनि उहाँकै गुटका छन्, त्यसले अवश्य फरक पर्न सक्छ, निधिजी अहिले सरकारमा हुनुहुन्न । त्यही भएर चुनावमा उहाँले कति मत तान्न सक्नुहुन्छ त्यो उहाँको क्षमतामा भर पर्ने कुरा हो ।’
निधि पनि पार्टीका शक्तिशाली नेता भएको भन्दै महाधिवेशनमा उनको शक्ति कति छ भनेर यो महोधिवेशनले देखाउने छ । उनले कति मत तान्न सक्छन् त्यो उनको शक्तिमा भर पर्छ । महाधिवेशन उनको लागि शक्ति परीक्षण पनि हो ।
तपाईको प्रतिक्रिया