नयाँ नेतृत्व चयन गर्दै कांग्रेसीजन

समाचार

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज निर्णायक दिन । कांग्रेसीजनले नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

यो महाधिवेशनबाट कांग्रेसको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने कि शेरबहादुर देउवालाई नै निरन्तरता दिने आज ऐतिहासिक दिन हो ।

नेतृत्व परिवर्तनको बहस चल्दै आएको कांग्रेसमा आजको निर्णायक दिनलाई महत्वपूर्ण मानिएको छ । पाँच जना सभापतिका उम्मेद्वार छन् । 

एक सभापतिका लागि हुने मतदानमा ५ जना, दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । 

प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् । आज हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । 

राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । 

महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ