सप्तरी, २७ मंसिर । प्रदेश नं. २ सरकारको महत्वाकांक्षी परियोजना प्रदेश कृषि विश्वविद्यालय सप्तरीले राजविराजमा कार्यालय स्थापना गर्दै औपचारिक रुप ग्रहण गरेको छ ।
पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विश्वविद्यालयको कार्यालय उद्घाटन गरेपछि कृषि विश्वविद्यालयले औपचारिक रूप ग्रहण गरेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री यादवले ८० प्रतिशत जनता कृषि मै आधारित रहेको हुँदा कृषिलाई आधुनिकीकरण गर्न प्रदेश सरकारले कृषि विश्वविद्यालय स्थापना गरेको बताएका छन् ।
यस विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै प्रदेशबाट गरिबी र बेरोजगारी न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेशको विकास सम्भव नरहेकाले कृषि विश्वविद्यालयको स्थापना गरिएको बताए ।
दक्ष जनशक्ति उत्पादन गर्ने सिटिईभिटि प्रदेश सरकार मातहत हुनुपर्ने भएपनि संघीय सरकारले हालसम्म हस्तान्तरण नगरेको हुँदा प्रदेश सरकार विश्वविद्यालयका साथै प्राविधिक शिक्षा बोर्डसमेत स्थापना गर्ने प्रक्रिया शुरु गरिसकेको बताए ।
बिना शिप वैदेशिक रोजगारीमा जाने युवाहरुको पीडाबाट प्रदेश सरकार अबगत रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेश सरकारले आत्मनिर्भर र रोजगारमूलक प्रदेश बनाउने प्रयास अगाडि बढाएको बताए ।
विश्वविद्यालयको कुलपति समेत रहेका मुख्यमन्त्री राउतले विश्व विद्यालय संचालनका लागि प्रदेश सरकार हरसम्भव प्रयासरत रहने प्रतिवद्धतासमेत व्यक्त गरे ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले नवनियुक्त उप कुलपति डा. वैद्यनाथ महतोलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेत गराएका थिए ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रमामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधिसभा सदस्य डा. सूर्य नारायण यादव, प्रदेशसभा सदस्य मनिष सुमन, राजविराजका मेयर शम्भु यादवसहितले शुभकामना मन्तब्य राखेका थिए ।
तपाईको प्रतिक्रिया