जनकपुरधाम, २९ मंसिर । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा स्वास्थ्य क्षेत्रको लागि अत्यावश्यक दुई परियोजनाको शिलान्यास सम्पन्न भएको छ ।
प्रदेश सरकारको समन्वय तथा संघीय सरकारको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास सम्पन्न भएको छ भने कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको उद्घाटन गरिएको छ ।
जनकपुर उपमहानगरपालिका १४ मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्र हाता भित्र निर्माण हुन लागेको उक्त भवनहरुको संघीय शहरी विकासमन्त्री रामकुमारी झाक्री, मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
त्यसैगरी उनीहरुले सोही परिसरमा निर्मित खोप भण्डारण गृहको उद्घाटन समेत गरे ।
७ करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढे तीन तल्ले भवन २०८० साल बैशाख ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने चार करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोरसमेत डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
उद्घाटन तथा शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले शिलान्यास गरिएका भवनहरु तीनै तह बीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताए ।
उनले स्रोत साधनको आभावमा समेत कोभिड १९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गर्नु हुँदै नयाँ भवन निर्माण पछि प्रयोगशाला थप सशक्त हुने विश्वास व्यक्त गरे ।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय सहरी विकास मन्त्री रामकुमारी झाँक्री, समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतो सहितका वक्ताहरुले सम्बोधन गरेका छन् ।
तपाईको प्रतिक्रिया