वसन्त चौधरीको कृतिलाई भारतमा प्रतिष्ठित केएलएफ अवार्ड

समाचार

काठमाडौं, २९ मंसिर । भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ अवार्ड पाएको छ ।

वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो ।

वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दी भाषीमाझ निकै चर्चित छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरूका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् वितरण गर्ने गरिन्छ ।

प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित गैरआख्यान, आख्यान, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरूसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरूमध्ये उत्कृष्टलाई केएलएफ अवार्ड दिने गरिन्छ ।

कलिंग लिटररी फेस्टिबल (केएलएफ) अन्तराष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सवसमेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरूको शहरले चिनिने भूवनेश्वरमा आयोजना गर्ने गरिन्छ । यो वर्ष भूवनेश्वरको स्वस्ती प्रिमियम होटलमा आठौं कलिंग साहित्य महोत्सव आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ