किसानलाई मल कहिले ?

समाचार

राजविराज, १ पुस । मल नपाएको आक्रोशमा सप्तरीका किसानले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरूले बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै घण्टौ नाराबाजीसमेत गरेका थिए ।

सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको राजविराजस्थित डिपोमा लाइन बसे पनि मल उपलब्ध नगराएपछि किसानहरू आक्रोशित भएका हुन । एक महिनादेखि खेत जोतेर राखिए पनि मल नपाउँदा गहुँ बाली लगाउन नसकेको उनीहरूको गुनासो छ ।

कृषि सामग्री कम्पनीलगायत आधिकारीक डिलरहरूले मलखाद नदिई कालोबजारी गरेको किसानहरूले आरोप लगाएका छन् ।

आफूहरू पैसा तिर्न तयार भए पनि मल पाउन मुस्किल भएको भन्दै उनीहरूले अविलम्ब मलको व्यवस्था मिलाउन माग गरेका छन् ।  तत्कालका लागि किसानको आक्रोश शान्त पारिए पनि सप्तरीमा मागको एक चौथाई पनि मल आपूर्ति हुन सकेको छैन ।

कम्पनीले सप्तरीका लागि ४ हजार टन युरिया, साढे ३ हजार टन डीएपी तथा ४ सय टन पोटास माग गरेको छ । यद्यपि हालसम्म ७ सय टन युरिया तथा ६५० टन डीएपी मात्रै उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ