जनकपुरधाम, १ पुस । तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा पुनः दर्ता भएको छ । रविशंकर कुमार कर्ण नेतृत्वको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले तराई मधेश लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रुपमा दर्ता गरेको हो ।
तराई मधेश लोकतान्त्रिक पार्टी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मंसिर ९ गते निर्णय भएकोले दल दर्ताको प्रमाणपत्र दिइएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।
कर्णले गत साउन १२ गते नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । त्यसका लागि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गर्न बोलाएको थियो ।
तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा रहने छ । त्यस्तै, पार्टीको केन्द्रीय समिति २१ सदस्यीय रहने छ ।
चुनाव चिह्न कलश तथा पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रंग रहेको छ । आयोगमा यस दलको दर्ता नम्बर १७५ रहेको छ ।
यसअघि नेपाली कांग्रेस परित्याग गरेर मधेश आन्दोलनमा लागेका महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) दर्ता गराएका थिए ।
तपाईको प्रतिक्रिया